पोखरामा प्रभावकारी ऋण व्यवस्थापन तालिम सम्पन्न
Apr 20, 2024

पोखरामा प्रभावकारी ऋण व्यवस्थापन तालिम सम्पन्न

बैशाख ८, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाको आयोजना र कोअपरेटिभ म्यानेजर्स क्लबको व्यवस्थापनमा सञ्चालित दुई दिवसीय “सहकारीमा प्रभावकारी ऋण व्यवस्थापन तालिम” शनिवार सम्पन्न भएको छ ।

एन.सी.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत शुक्रवार र शनिवार पोखरामा सञ्चालन भएको तालिममा कास्की जिल्लाका सहकारी संघ/संस्थाहरूबाट ३२ जना व्यवस्थापक तथा ऋण अधिकृतहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाबाट सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने प्रक्रियाहरू, असुलीका लागि बनाइने योजनाहरूका साथै ऋणलाई खराब हुन नदिन तथा खराब ऋणीहरूबाट ऋण असुलीका लागि अपनाउनु पर्ने कानुनी प्रावधान लगायतका विषयमा तालिममा सहजीकरण गरिएको थियो ।

पछिल्लो समय केही सहकारीहरूले गरेको गलत क्रियाकलापका कारण आम सहकारीहरूलाई प्रभावित बनाएको र बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूमा ऋणको भाखा नाघेर खराब ऋण बढ्दै जाने, ऋणी सदस्यहरुले ऋण भुक्तान गर्न आनाकानी गर्ने, ऋण असुलीका लागि अपनाउनु पर्ने कानुनी प्रक्रिया नपुगेका कारण संस्थाको ऋण असुलीमा समस्या सिर्जना हुने जस्ता समस्या देखिएकाले ऋण व्यवस्थापन तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

बैंकका लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्र कुमारी पराजुलीले सहकारीहरूलाई प्रभावकारी रूपमा सञ्चालनका लागि सुरक्षित ऋण लगानी आवश्यक रहेको बताउनुभयो । सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापक तथा ऋण अधिकृतहरूको प्रभावकारी ऋण व्यवस्थापन तालिमले सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदान–प्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका कर्जा जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्न सहयोग पुग्ने लक्ष्य बैंकले लिएको बताउनु भयो ।

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष अपिल कोइरालाले सहकारी बैंकसँग सिएमसि कास्कीले सधैँ सहकार्य गर्दै सहकारी संघ÷संस्थालाई निःशुल्क तालिमहरू विगतमा पनि सञ्चालन गरेको अवगत गराउँदै आगामी दिनहरुमा सञ्चालन गरिरहने जानकारी दिनु भयो । उहाँले आ–आफ्नो संस्थामा रहेको ऋण र भविष्यमा लगानी गर्ने ऋणलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै सहकारीलाई दिगो बनाउनु पर्ने उल्लेख गर्नुभयो । सहकारी संस्थामा सुशासन कायम गर्न र ऋणलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न तालिमले सहयोग पुग्ने बताउनु भयो ।

बैंकको गण्डकी प्रदेश प्रमुख नरेश पाण्डेले तालिमले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई फरक ढङ्गले सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । 

सञ्चालक समितिले संस्थामा निर्णय गर्ने भए पनि कार्यान्वयन गर्ने व्यक्ति व्यवस्थापक तथा कर्मचारीहरू नै भएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्दा संस्थालाई नीतिगत रूपमा अगाडि बढाउन टेवा पुग्ने, सुशासन र विधिलाई पालना गर्न अभिप्रेरित गर्ने भएकाले यो कार्यक्रम गरिएको उल्लेख गर्नुभयो । 

तालिमलाई बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिनाले २ दिन सम्म प्रभावकारी ऋण व्यवस्थापनको विषयमा सहजिकरण गर्नु भएको थियो । सिएमसि  कास्कीको सचिव मोहन प्रसाद अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा बैंकको पोखरा शाखाका शाखा प्रमुख अमृत श्रेष्ठ को समेत उपस्थिति रहेको थियो  ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.