ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड दाङ शाखाले “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूलाई क्षमता अभिवृद्धि तालिम” प्रदान गरेको छ ।
एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत मङ्सिर ११ र १२ गते दुई दिन सम्म सञ्चालन भएको तालिममा शाखाको कार्यक्षेत्रमा रहेका १८ सहकारी संस्थाका ३३ जना अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको बैंकको दाङ शाखाका प्रमुख प्रदीप अर्यालले जानकारी दिनुभयो ।
सहकारी ज्ञान, पदीय जिम्मेवारी, सहकारी आवश्यकता, समस्या पहिचान समाधान, प्रविधि, ऐन नियम सम्बन्धमा जानकारी दिने उद्देश्यले गएको वर्षदेखि देशैभर तालिम तथा प्रशिक्षण आयोजना भइरहेको बैंकका सञ्चालक विजया धितालले बताउनु भयो ।
दुई दिन सम्म सञ्चालन भएको तालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको सहकारी प्रशिक्षक सञ्जयराज तिमिल्सिनाले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा बैंकको दाङ शाखा समन्वय उपसमितिका सल्लाहकार माधव खनाल, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड दाङका अध्यक्ष विमल अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।