मङ्सिर १३, ललितपुर । सहकारी क्षेत्रको विकास र सुदृढीकरणका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेडले ‘सहकारीका समसामयिक अड्चन र निकास’ विषयक प्रदेश स्तरीय गोष्ठी लुम्बिनी प्रदेशको बुटवलमा बुधवार सम्पन्न गरेको छ ।
बैंकको २१औं वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा सहकारी क्षेत्रका चुनौती र समाधानका उपायहरूको समीक्षा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बैंकका सञ्चालक विजया धितालले जानकारी दिनुभयो ।
सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै यसलाई आर्थिक समृद्धिको मुख्य माध्यम बनाउने उद्देश्यले अघि सारेका कार्यक्रम र योजनाहरूका बारेमा छलफल गरी अगाडि बढ्नका लागि कार्यक्रम सहयोगी हुने उहाँको भनाइ थियो ।
गोष्ठीमा सहकारी ऐन, सहकारीका मूल्य र मान्यताको पालना, सुशासन, र पारदर्शिता जस्ता विषयमा केन्द्रित रहेर नेपाल राष्ट्र बैंकका उप–निर्देशक तथा सहकारी विज्ञ डा.रमेश चौलागाईंले सहकारी क्षेत्रका चुनौती र समाधानका उपायका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
उहाँले कमजोर नियमन प्रणाली, सहर केन्द्रित कारोबार र निजी व्यवसायको शैलीमा सहकारी सञ्चालन गर्दा समस्या थप जटिल बनेको उल्लेख गर्दै संघीयता कार्यान्वयनसँगै तीनै तहमा नियमन पुगे पनि नियामक निकायहरूले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको कारण सहकारीहरू सङ्कटमा परेको औँल्याउँदै, सहकारीको सुदृढीकरणका लागि सहकारी प्राधिकरण स्थापना गरी सहकारी सम्बन्धी काम सम्बन्धित मन्त्रालय र नेपाल राष्ट्र बैंकसँगको प्रत्यक्ष समन्वयमा सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
उहाँले बचत र कर्जाको सीमा निर्धारण गर्ने, बचतकर्ताका रकमको कानुनी स्रोत खुलाउने, र सहकारीलाई पारदर्शी बनाउँदै दिगो विकासतर्फ उन्मुख गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उप–निर्देशक चौलागाईंले सहकारी क्षेत्रको सुशासन, उत्तरदायित्व, र पारदर्शितामा जोड दिंदैँ सहकारी क्षेत्रका कमजोरीहरू सुधार गर्न सबै सरोकारवालाहरूले सामूहिक रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नु भयो । ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारी क्षेत्रको समस्याको समाधानका लागि सुधारको सुरुवात आफैँबाट गर्नुपर्ने बताउनुभयो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै बैंकले सहकारी क्षेत्रलाई नयाँ ऊर्जा र दिशानिर्देश दिन प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रमुख कार्यकारी अधिकृत गुरागाईंले तत्कालको लागि नाफा केन्द्रित भन्दा पनि सदस्य सहकारी संस्थाहरूलाई तालिम, शिक्षा, र बहसका माध्यमबाट सशक्त बनाउने योजनामा बैंक केन्द्रित रहेको उल्लेख गर्नुभयो । सहकारी संघका व्यवस्थापक तथा अध्यक्षहरूको क्षमता अभिवृद्धिका लागि बैंकले ६८ वटै शाखा कार्यालय मार्फत निःशुल्क तालिम कार्यक्रम सञ्चालन गरि रहेको समेत जानकारी दिनुभयो ।
गोष्ठीमा लिडरसिप डेभलपमेन्ट सेन्टर भैरवाका संस्थापक प्रशिक्षक विजय पाण्डेले तनाव व्यवस्थापन र उत्प्रेरणाको विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी सहकारी अभियन्ता तथा व्यवस्थापन प्रमुखहरूले बैंकको यो कदमले सहकारीप्रतिको विश्वास पुनः स्थापना गर्न महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । विज्ञ प्रस्तुतीकरण र गोष्ठीका अन्य सत्रहरूले सहकारीको वर्तमान समस्यालाई गहिराइसम्म बुझ्न र समाधानको खाका कोर्न सहयोग गरेको धारणा व्यक्त गरेका छन् ।
बैंकको सञ्चालक विजया धितालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् बैंकको बुटवल शाखा समन्वय उपसमितिका संयोजक भीम तुलाचन प्रमुख आतिथ्यता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का सञ्चालक ज्ञानु पौडेल, सहकारी विकास बोर्डका पूर्व सञ्चालक सन्दीप सापकोटा, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपाल, जिल्ला सहकारी संघ अर्घखाँचिका अध्यक्ष प्रकाश भुषाल, रुपन्देही जिल्ला सहकारी संघका महासचिव दामोदर पङ्गेनी, पाल्पा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगदीश भट्टराई, दाङ जिल्ला सहकारी संघका पूर्व अध्यक्ष गोविन्द प्रसाद शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
सुदूरपश्चिम प्रदेशबाट सुरु गरिएको गोष्ठी कार्यक्रम गण्डकी प्रदेशको पोखरामा सम्पन्न भइसकेको छ, मङ्सिर २० भित्र सबै प्रदेशमा प्रदेशस्तरीय गोष्ठी सम्पन्न गर्ने योजना बैंकले जनाएको छ । कार्यक्रम मार्फत सहकारी अभियानलाई थप प्रभावकारी बनाउन र सहकारी क्षेत्रका समस्या समाधानमा नयाँ दृष्टिकोण ल्याउने बैंकको लक्ष्य रहेको छ । बैंकको लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासेले सञ्चालन गर्नु भएको कार्यक्रममा बैंकको बुटवल शाखा प्रमुख संगिता धितालले स्वागत मन्तव्य राख्नुभएको थियो ।