राष्ट्रिय सहकारी बैंकद्वारा नेफ्स्कूनका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई बधाई तथा शुभकामना
Jan 8, 2024

राष्ट्रिय सहकारी बैंकद्वारा नेफ्स्कूनका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई बधाई तथा शुभकामना

पुस २३, ललितपुर । 

राष्ट्रिय सहकारी बैंक लिमिटेडले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का नव निर्वाचित पदाधिकारी, सञ्चालकहरू तथा लेखा सुपरिवेक्षण समितिका संयोजक र सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ । 

सोमबार ललितपुरमा आयोजित सहकारी बैंक र नेफ्स्कूनबीच भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेफ्स्कूनको पुस ७ र ८ गते सम्पन्न ३२ औँ वार्षिक साधारण सभाबाट नव निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई बैंकका अध्यक्ष के.बी. उप्रेतीले बधाई ज्ञापन गर्नुभएको हो ।

बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष उप्रेतीले नेपालको समग्र सहकारी अभियान सुदृढीकरणका लागि बैंक र नेफ्स्कूनबीच सहयोग र सहकार्यका साथ अघि बढ्नु पर्ने बताउनु भयो ।

उहाँले विगतमा बैंक र नेफ्स्कूनबीच विभिन्न क्षेत्रमा सहकार्यात्मक सम्बन्ध विस्तार भएको चर्चा गर्दै नव निर्वाचित सञ्चालक समितिसँग मिलेर हाल सहकारी क्षेत्रमा देखा परेका विभिन्न समस्यालाई समाधान गर्न सकेमा सहकारी क्षेत्रको साख अझ बढ्न सक्ने कुरामा जोड दिनुहुँदै सहकारी अभियानलाई दीर्घकालीनसम्म सबल र सक्षम बनाउन बैंक र नेफ्स्कून समन्वय गरि अघि बढ्नुको विकल्प नभएको बताउनु भयो ।

नवनिर्वाचित नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीका विद्यमान सङ्कट समाधानका लागि सहकारी अभियान एकसाथ अघाडी बढिरहेको दृष्टान्त उदारणहरू रहेको चर्चा गर्दै सहकारी बैंक, नेफ्स्कून सामूहिक ऐक्यबद्धता सहित ठिक ढङ्गले सहकारी अभियानलाई गति प्रदान गर्ने दिशामा नेफ्स्कून प्रतिबद्ध भएर लाग्ने बताउनु भयो ।

अध्यक्ष ढकालले विगतमा बैंक र नेफ्स्कूनबीचमा भए गरेका सहकार्यको स्मरण गर्दै वर्तमान सञ्चालक समितिले सहकारी अभियानको साझा मुद्धामा हातेमालो गर्दै जाने प्रतिबद्धता जनाउनु भयो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बैंकको संक्षिप्त परिचय राख्नुहुँदै नेपालको सहकारी अभियानमा देखा परेका समस्या र वित्तीय सहकारी संस्थामा देखा परेको समस्यालाई समाधान गर्नको लागि बैंक र नेफ्स्कूनबीचको समन्वय आवश्यक रहेको विषयमा जोड दिनु भयो ।

उहाँले वित्तीय सहकारीको स्थायित्व एवम् दिगो सञ्चालनको लागि २०७७ सालमा बैंक र नेफ्स्कूनबीच गठन भएको कार्यदलले सहकार्य क्षेत्रको अल्पकालीन एवम् दीर्घकालीन प्राथमिकिकरण गरिएको उल्लेख गर्दै कोभिड–१९, जस्ता महामारीको समयमा सहकारी सञ्चालनमा साझा धारणा निर्माण देखि तरलता व्यवस्थापनमा सहजीकरण र तरलता व्यवस्थापन कोषको गठनले सहकारी क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनु भयो ।

त्यसैैगरी सहकारी क्षेत्रमा देखा परेका समस्या समाधानको लागि साझेदारीको मार्गचित्रका सम्भावित क्षेत्र अन्तर्राष्ट्रिय सम्बन्ध, तालिम शिक्षा तथा श्रोत केन्द्र, सहकारी बहस पैरवी तथा नियामकिय अवधारणाका विषयमा सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले नेफ्स्कूनको छोटकरीमा विवरण प्रस्तुत गर्दै तालिम शिक्षा तथा श्रोत विकास, सहकारीहरूका लागि एकीकृत नीति निर्देशिका निर्माण, साझा प्रविधि विकासमा सहकार्य, केन्द्रीय तरलता कोष स्थापनाका लागि बहस, सञ्जाल व्यवस्थापनमा सहकार्य र सहजिकरण, सहकारी ऐनका व्यवस्थाहरू कार्यान्वयनमा सहकार्य र सहकारीका सिद्धान्त, मूल्य मान्यता र मापदण्डहरूको प्रवर्द्धनमा सहकार्यको लागि सहकारी बैंक र नेफ्स्कून बिचको सहकार्यका सम्भावना रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा बैंकको तर्फबाट अध्यक्ष के.बी. उप्रेती, निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल, सञ्चालकहरु रामहरि बजगाईं, केदार मानन्धर, पार्वती थापा मगर, मनोज कुमार थापा मगर, ध्रुवराज विष्ट, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, नायब प्रमुख कार्यकारी मनोज खड्का, नायब महाप्रबन्धक राजेश श्रेष्ठको सहभागिता रहेको थियो ।

त्यसैगरी नेफ्स्कूनको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा सहित सम्पूर्ण सञ्चालकहरुको सहभागिता रहेको थियो ।  

नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) को पुस ७ र ८ गते सम्पन्न निर्वाचन सहितको ३२ औँ वार्षिक साधारण सभाबाट चन्द्र प्रसाद ढकालको अध्यक्षतामा १९ सदस्य सञ्चालक समिति र इन्द्रराज ज्योति पौडेलको संयोजकत्वमा तीन सदस्य लेखा सुपरिवेक्षण समिति निर्वाचित भएका थिए ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.