ऋण जोखिम, धितो मूल्याङ्कन तथा कानुनी व्यवस्थापन तालिम सम्पन्न
Sep 1, 2024

ऋण जोखिम, धितो मूल्याङ्कन तथा कानुनी व्यवस्थापन तालिम सम्पन्न

भाद्र १६, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड इटहरी शाखाले सञ्चालन गरेको २ दिने ऋण जोखिम, धितो मूल्याङ्कन तथा कानुनी व्यवस्थापन सम्बन्धी तालिम शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाले सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, जमानत लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिममा ऋण लगानीका प्रक्रियाहरू, क्षमतामा आधारित ऋण लगानी, व्यवसाय विश्लेषण, ऋण अनुगमन र निरीक्षण, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको ऋण असुली सम्बन्धी कानुनी व्यवस्थाहरू, ऋणको वर्गीकरण, ऋण असुलीका उपायहरू, भाखा नाघेको ऋण असुली गर्ने तरिका, धितो मूल्याङ्कन तथा कानुनी व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

बैंकका प्रमुख जोखिम अधिकृत प्रमोद कुमार घिमिरेले तालिममा सहजीकरण गर्दै ऋण लगानी गर्दा ध्यान दिन नसकेका कारण खराब ऋण बढेकोले पनि सहकारीमा कर्जा जोखिममा समस्या भएको बताउनु भयो । उहाँले वित्तीय कारोबार गर्ने सहकारीहरूले ऋण लगानी र असुलीका विधि प्रक्रिया र अभिलेख व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । तालिममा सिकेका कुरा आ–आफ्नो संस्थामा लगेर कार्यान्वयन गर्न सकेमा ऋणको जोखिम न्यूनीकरण गर्न सकिने उल्लेख गर्नु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् बैंकको इटहरी शाखा समन्वय उपसमिति सदस्यका सदस्य योगमाया सुवेदीले सहकारीको ऋण भनेको संस्थाको मेरुदण्ड भएकाले ऋण लगानी पूर्व धेरै कर्जा लगानी जोखिम विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने र संस्थालाई दिगो रूपमा अगाडी बढाउन यस्ता तालिमले सहयोग गर्ने बताउनु भयो ।

जिल्ला सहकारी संघ सुनसरीका वर्तमान अध्यक्ष गंगा प्रसाद दाहालले सहकारीले सदस्यहरूलाई विधिसम्मत ऋण लगानीका लागि कर्मचारीको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिनु भयो । 

तालिम समापन कार्यक्रममा सहभागीहरूले तालिमले ऋण व्यवस्थापनका विधि र प्रक्रिया, कानुनी पक्ष लगायत जोखिम न्यूनीकरणका विषयमा सहजता ल्याउन सहयोग पुग्ने धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक लिमिटेड इटहरी शाखाका प्रमुख सबिना श्रेष्ठले गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error