सहकारी संस्थाका व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पन्न
Jun 14, 2024

सहकारी संस्थाका व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पन्न

जेठ ३२, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड जोरपाटी शाखाको आयोजनामा सञ्चालित सहकारी संस्थाका व्यवस्थापकहरूको “क्षमता विकास तालिम” सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत दुई चरणमा निःशुल्क रूपमा सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका सहकारी संघ संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो । पहिलो चरण जेठ २८ र २९ गते र दोस्रो चरण जेठ ३० र ३१ गते गरी दुई चरणमा सञ्चालन गरिएको बैंकको जोरपाटी शाखाका प्रमुख आदर्श धमलाले जानकारी दिनु भयो । तालिमको पहिलो चरणमा ३२ र दोस्रो चरणमा ३३ जनाको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक सहकारी संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, सहकारी ऐन, नियम, सिद्धान्त, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, कार्यालय सञ्चालन प्रक्रिया लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

तालिमको पहिलो चरणको समापन बैंकका सञ्चालक केदार मानन्धर र दोस्रो चरणको समापन सञ्चालक रामहरि बजगाईँले गर्नु भएको थियो ।

पहिलो चरणको तालिम समापन कार्यक्रममा बोल्दै सञ्चालक केदार मानन्धरले सहकारी क्षेत्रमा हाल सञ्चालनमा रहेका सहकारी संस्थाहरु सहकारी ऐन, नियम, नियमावली तथा मापदण्ड अनुसार चल्नु पर्नेमा जोड दिनु भयो । उहाँले ऐन नियममा नचल्नाले हाल देशभरका केही सहकारीमा संस्थाहरुमा समस्या देखिएको भन्दै सबैलाई एउटै हो भनेर दाँज्न नमिल्ने बताउनु भयो । उहाँले तालिममा सिकेको ज्ञान र सिपलाई सहकारी संस्था र सदस्यको आर्थिक विकासमा सहयोग पुग्ने काम गर्नु पर्ने बताउनु भयो ।

त्यसैगरी दोस्रो चरणको कार्यक्रम समापनको अवसरमा बोल्दै सञ्चालक रामहरि बजगाईँले सहकारीको साधारणसभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित पारदर्शी र प्रभावकारी बनाउनका लागि व्यवस्थापकको भूमिका महत्वपूर्ण हुनु पर्ने बताउनु भयो । उहाँले बैंकले सञ्चालन गरिरहेको तालिम तथा शिक्षाका कार्यक्रममा सहभागी भएर लाभ लिन आग्रह गर्दै बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा आबद्ध हुन आग्रह गर्नु भयो ।

तालिमलाई सहकारी प्रशिक्षक कुमार खत्री, राधेश्याम दुवाल र डा. कृष्णकान्त मिश्रले प्रारम्भिक सहकारीको अवधारणा ऐतिहासिक पृष्ठभूमि र सहकारीको सिद्धान्त, प्रभावकारी ऋण व्यवस्थापन ,व्यवस्थापकको कार्य र व्यवस्थापन प्रतिवेदन, पल्स अनुगमन प्रणाली, रणनीतिक सोच, मानव संसाधन ब्यस्थापन र सहकारीमा  कानुनको परीपलना लगायतको विषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन बैंकको जोरपाटी शाखाका प्रमुख आदर्श धमलाले गर्नु भएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.