सहकारी बिग्रदा अर्थतन्त्र बिग्रन्छ, बेलैमा सचेत बनौ : काशीराज दाहाल
Apr 4, 2024

सहकारी बिग्रदा अर्थतन्त्र बिग्रन्छ, बेलैमा सचेत बनौ : काशीराज दाहाल

ललितपुर, २२ चैत । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले समाज निर्माणको जग सहकारी क्षेत्र समस्याग्रस्त बन्दा मुलुकको सिंगो आर्थिक अवस्था कमजोर हुने भएकाले सहकारीको समस्या समाधानका लागि सरोकारवालाहरु सबै एकठाउमा आउनु पर्नेमा जोड दिनुभएको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी बैंक लिमिटेडले बिहीवार आयोजना गरेको सहकारीमा सुशासन : वर्तमान अवस्था र आगामी कार्यदिशा विषयक अन्तरसम्वाद कार्यक्रममा सहजीकरण गर्दै दाहालले यस्तो बताउनु भएको हो ।

  सहकारी हाम्रो आस्था हो, सहकारी बिग्रदा अर्थतन्त्रमै समस्या आउछ, सबै सहकारीमा समस्या छैन, समस्या भएका थोरै छन, तिनका कारण धेरैमा प्रभाव पारेको छ, अध्यक्ष दाहालले भन्नुभयो,—‘सहकारीको यथार्थ अवस्था पत्ता लगाई गल्ती गर्नेलाई कार्वाही गर्ने, समस्यामा परेकाहरुलाई सहजीकरण गरेर सुधार गर्न लगाउने र राम्रो गर्नेलाई प्रोत्साहन गर्दा मात्रै सहकारी क्षेत्रको समस्या समाधान हुन्छ ।’ राम्रा सहकारीको बजारीकरण भएन, गलत गर्नेको प्रचार धेरै भयो, अध्यक्ष दाहालले भन्नुभयो ।

  नियत खराव भएका मान्छेहरुले सहकारीलाई उपयोग गरेर वचत संकलन गर्ने, सहकारीमा संकलित बचत आफ्नो निजी सम्पत्ती आर्जनमा गलत तरिकाले प्रयोग गरेका कारण समस्या सिर्जना भयो, गलत काम गर्नेहरुको प्रभाव राम्रोसंग चलेका सहकारीमा पनि पर्न गएका कारण आज सहकारीप्रतिको विश्वास कम भएको भन्दै अध्यक्ष दाहालले सरकार, सहकारी अभियान, सहकारी संस्थाहरु र शेयर सदस्यहरु समेत सचेत बनेर सहकारीको समस्या समाधान गर्नु पर्ने बताउनुभयो ।

  सरकारले सघन अनुगमन गरेर खराव नियत भएकाहरुलाई कार्वाही गर्ने, नियत खराव नभएका र सञ्चालन प्रक्रियामा समस्या देखिएकाहरुलाई सुधार गर्न प्रोत्साहन गर्ने तथा असल अभ्यास गरीरहेकाहरुले गरेको कामको प्रचार प्रसार आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।

  सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका शेयर सदस्य वचतकर्ताहरुलाई उनीहरुको रकम फिर्ता गर्नका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले निरन्तर प्रयास गरीरहेको उहाँले बताउनुभयो । समस्या धेरै छन, समाधानका लागि प्रयास भइरहेको छ । कतिपय कानुनी समस्या पनि छन्, कतिपय सदस्यहरुले समस्याग्रस्त समिति व्यवस्थापन समिति र अदालतमा मुद्दा दर्ता गराएका कारण काम गर्न असजिलो भएको दाहालले जानकारी दिनुभयो ।

कार्यक्रमका सहभागीहरुलाई बैंकको तर्फबाट धन्यवाद ज्ञापन गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो समय गरेका कामले सहकारीबाट पीडित भएकाहरुमा आशा पलाएको बताउनुभयो । पछिल्लो समय ऋण तिर्न पर्दैन भन्ने प्रवृति बढ्दै गएकोले सरकारले यस्ता प्रवृतिहरुलाई निरुत्साहन गर्ने गरी कार्यक्रम अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।

  बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सुशासन कमजोर हुनुका साथै नाफामा केन्द्रीत गराउदा समस्या बढ्दै भएको बताउनुभयो । जसरी पनि नाफा बाड्नु पर्छ भन्ने मानसिकताका कारण जोखिम कोष कमजोर भएको भन्दै उहाँले नाफा भन्दा सुरक्षामा ध्यान दिन सक्दा मात्रै सहकारीको भविष्य सुरक्षित हुने बताउनुभयो ।

 भर्चुअल माध्यमबाट सञ्चालित कार्यक्रमको सञ्चालन बैंकका अधिकृत मिना शर्मा र बल्लभ तिमिल्सिनाले गर्नु भएको थियो । 

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.