सहकारी संस्थाका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम
Mar 27, 2024

सहकारी संस्थाका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम

चैत्र १४, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड मुख्य शाखा कुपण्डोल र नयाँबानेश्वर शाखा कार्यालयहरूले संयुक्त आयोजना गरेको दुई दिवसीय क्षमता विकास तालिम बुधवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा मंगलबार र बुधवार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३५ वटा सहकारी संस्थाहरूका व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमतामा विकास गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन मंगलबार बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईले गर्नुभएको थियो । उद्घाटन पछि मन्तव्य राख्दै सञ्चालक बजगाई सहकारीमा सङ्कलित पूँजी अनुत्पादक क्षेत्रमा परिचालन भइरहेको सन्दर्भमा यस तालिमले व्यवस्थापकहरूलाई आयआर्जन र उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गरी सदस्यहरूको जीवनस्तरमा प्रभाव पार्ने गरी काम गर्न समेत सघाउन टेवा पुग्ने बताउनु भयो । सञ्चालक समितिले संस्थामा निर्णय गर्ने भए पनि कार्यान्वयन गर्ने व्यक्ति व्यवस्थापकहरू नै भएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्दा संस्थालाई नीतिगत रूपमा अगाडि बढाउन टेवा पुग्ने, सुशासन र विधिलाई पालना गर्न अभिप्रेरित गर्ने भएकाले यो कार्यक्रम गरिएको उल्लेख गर्नुभयो । 

त्यसैगरी तालिमको समापन सत्रमा मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई फरक ढङ्गले सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले सहकारी संस्थाहरु खास गरी वित्तीय कारोबार गर्ने सहकारीहरूमा सुशासन कायम गर्न, संस्थाको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने र संस्थाको समग्र संरचनालाई चुस्त बनाउन तालिमले सहयोग पुग्ने बताउनु भयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई सहकारी प्रशिक्षक अनिल विर बज्राचार्यले विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो ।

बैंकको बानेश्वर शाखाका प्रमुख विनोद भट्टराईले सञ्चालन गर्नु भएको तालिममा स्वागत मन्तव्य मुख्य शाखाका प्रमुख राम कुमार तिमल्सिनाले गर्नु भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.