महेन्द्रनगरमा सम्पत्ति दायित्व व्यवस्थापन तालिम सन्चालन
Feb 23, 2024

महेन्द्रनगरमा सम्पत्ति दायित्व व्यवस्थापन तालिम सन्चालन

फाल्गुन ११, ललितपुर ।

            को–अपरेटिभ म्यानेजर्स क्लब कञ्चनपुरको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सहकारीको सम्पत्ति दायित्व व्यवस्थापन विषयक दुई दिवसीय तालिम कञ्चनपुरको महेन्द्रनगरमा शुक्रवार देखि सुरु भएको छ । 

सहकारी संस्थाको आर्थिक प्रतिवेदनको तयारीमा संलग्न हुने व्यवस्थापक तथा लेखा शाखाका कर्मचारीहरूलाई लक्षित गरि आयोजना गरेको तालिममा जिल्लाका विभिन्न सहकारी संस्थाका व्यवस्थापक र लेखा शाखाका कर्मचारीहरू गरी ३५ जनाले सहभागिता जनाएका छन् । 

तालिमको उद्घाटन राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले गर्नु भएको थियो । उद्घाटन पछि कार्यक्रममा मन्तव्य राख्नु हुँदै प्रमुख कार्यकारी अधिकृत गुरागाईंले सहकारीमा सम्पत्ति र दायित्व व्यवस्थापनको पर्याप्त पुँजी, स्थिर आम्दानी, तरलता जोखिम व्यवस्थापन मार्फत सहकारीलाई आर्थिक रूपमा सक्षम राखी सुनिश्चित गर्न सहज हुने बताउनु भयो । 

उहाँले संस्थाको लेखा परीक्षण प्रतिवेदनमा वासलातको अध्ययनले समग्र सहकारी संस्थाको आर्थिक अवस्था सहकारी संस्थाको स्वामित्वका सम्पत्तिहरू र अल्पकालीन एवम् दीर्घकालीन दायित्वहरूको विषयमा ज्ञान हुने हुँदा यसको तयारीमा दक्षता हुनु आवश्यक रहेको उल्लेख गर्नु भयो । 

सम्पत्ति दायित्व व्यवस्थापनबाट संस्थाले जोखिम व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्नुहुँदै, सम्पूर्ण जोखिमको विश्लेषण र व्यवस्थापन गर्ने जिम्मा व्यवस्थापकको रहेको बताउनु भयो । संस्थाको आर्थिक प्रतिवेदनहरू सहकारी संस्थाको मजबुत र अन्य अवस्थाका प्रतिबिम्ब भएकाले ती प्रतिवेदनहरूमध्ये वासलात अझ महत्वपूर्ण आर्थिक प्रतिवेदन रहेको भन्दै हरेक सहकारी संस्थाको लेखाको उचित र विश्वासनिय आर्थिक प्रतिवेदनहरूले सहकारीका सदस्यहरूको संस्थाप्रतिको विश्वासलाई मजबुत बनाउने कुरामा जोड दिनु भयो ।

दुई दिनसम्म सञ्चालन हुने तालिममा सम्पत्ति दायित्व व्यवस्थापनका विषयमा जानकारी गराउँदै सहकारी संस्थाको गुणस्तरीय वित्तीय संरचना, कोष लागत निर्धारण तथा प्रभावकारी तरलता व्यवस्थापनका  विषयमा प्रशिक्षण दिइने को-अपरेटिभ म्यानेजर्स क्लब कञ्चनपुरका अध्यक्ष सुनिल सेठीले जानकारी दिनुभयो ।

तालिमको राष्ट्रिय सहकारी बैंक लिमिटेड तालिम विभागका अधिकृत बल्लभ तिमल्सिनाले सहकारीको सम्पत्ति दायित्व व्यवस्थापनको विषयमा सहजिकरण गर्नुहुने छ ।

तालिम पश्चात् संस्थाको सम्पत्ति दायित्वको उचित लेखाङ्गकन गर्न सहयोग पुग्ने कार्यक्रमका सहभागीले बताएका छन् ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.