ललितपुरमा गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सञ्चालन
Nov 6, 2023

ललितपुरमा गोएमएल तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सञ्चालन

भदौ २६, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाको आयोजनामा सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तथा गोएमएल सम्बन्धी तालिम मंगलबार सञ्चालन भएको छ । सम्पत्ति शुद्धीकरण निवारणको विषयमा सहकारी संस्थाहरुको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०७३ भएका प्रावधानहरू, विद्यमान ऐन तथा कानुनी संरचना तथा शंकास्पद/सीमा कारोबार विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरेको बैंकले जनाएको छ ।

कार्यक्रम समापनको अवसरमा बोल्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले १० करोड भन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीले एकीकृत सूचना प्रणाली (गोएमएल) मा अनिवार्य आबद्ध हुनुपर्ने भएको हुँदा संस्थाहरुलाई त्यस तर्फ विशेष ध्यान दिन अनुरोध गर्नुभयो । बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनी, सेयर ब्रोकर, रेमिट्यान्स लगायतका कम्पनीलाई गोएमएलमा आबद्धता अनिवार्य भए पनि सहकारीको हकमा भने १० करोडभन्दा बढी कारोबार गर्ने संस्थालाई मात्र अनिवार्य गरिएको बताउनुभयो ।

उहाँले गोएमएल प्रणाली मार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ गर्न सहकारी विभागले पहिलो पटक २०७७ पुसमा निर्देशन जारी गरेको स्मरण गर्दै त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा गत साउन २२ गते विभागले पुनः दोस्रो पटक निर्देशन जारी गर्दै गोएमएल सिस्टममा आबद्ध भई रिपोर्टिङ गर्न सहकारी संघ तथा संस्थाहरुलाई निर्देशन जारी भएअनुसार सदस्य सहकारी संघ संस्थाहरुको सहजताको लागि तालिम प्रभावकारी हुने कुरामा जोड दिनुभयो ।

बैंकका सञ्चालक रामहरी बजगाईंले सहकारी सदस्य केन्द्रित व्यवसाय भएकाले आफ्ना सदस्यहरूको व्यवसाय प्रवर्द्धन र विकासका लागि बैंकले पनि वित्तीय सेवासँगै तालीम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरेको उल्लेख गर्दै यस्ता तालिमले संस्थाको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा लगनखेल शाखा कार्यालय अन्तर्गतका विभिन्न सहकारी संघ संस्थाबाट ५० जनाको सहभागिता रहेको थियो । बैंकको लगनखेल शाखाका प्रमुख रमा घिमिरेको सञ्चालन तथा राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालको सहजीकरण मा तालिम भएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.