कीर्तिपुर र बलम्बु क्षेत्रको सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम
Feb 21, 2024

कीर्तिपुर र बलम्बु क्षेत्रको सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम


फाल्गुन ९, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड कीर्तिपुर र बलम्बु शाखा कार्यालयद्वारा आयोजित दुई दिवसीय सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम बुधवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा मंगलबार र बुधवार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका २८ वटा सहकारी संघ संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलता पूर्वक सञ्चालन र व्यवस्थापन गरी सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । 

तालिममा सहकारी क्षेत्रको आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा सञ्चालक तथा अध्यक्षहरूको भूमिका, सहकारी ऐन, नियमावली, आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, विकास व्यवस्थापन प्रतिवेदन, विश्लेषण, बैठक सञ्चालन प्रक्रिया, नेतृत्वको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक पार्वती थापा मगरले गर्नुभएको थियो । उद्घाटन पछि मन्तव्य राख्दै मगरले सहकारी संस्थामा अध्यक्षले सही समयमा उचित निर्णय लिनु पर्ने धारण राख्नु भयो । कीर्तिपुर नगरपालिका सहकारी विभागका वरिष्ठ अधिकृत सुजिन्द्र महर्जनले सहकारी संस्थालाई प्रभावकारी रूपमा सञ्चालनका लागि अध्यक्षको भूमिका प्रमुख रहने बताउनु भयो ।

त्यसैगरी तालिमको समापन सत्रमा मन्तव्य राख्दै बैंकका सञ्चालक केदार मानन्धरले सहकारी संस्थाका अध्यक्षहरूलाई जबाफदेही बनाउँदै समस्या समाधान गर्न प्रमुख भूमिका अध्यक्षहरूको भएको बताउनु भयो । संस्था प्रति जबाफदेही, पारदर्शी र सुशासनयुक्त संस्था बनाउन मुख्य भूमिका अध्यक्ष नै बढी जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै, उहाँले सहकारीमा देखिएको वर्तमान चुनौतीलाई सामना गर्दै अभियानलाई थप सुदृढ बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिनु भयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई तेज प्रसाद बजगाईँले विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रमका सहभागीहरूले आगामी दिनमा सहकारीहरूलाई थप प्रभावकारी बनाउनका लागि शेयर सदस्यहरूसँगको सम्बन्धलाई प्रभावकारी बनाउने, संस्थाबाट ऋण लगेका शेयर सदस्यहरूलाई ऋणको ब्याज र किस्ता समयमै भुक्तान गर्ने वातावरण बनाउन राज्यका निकायसँग समन्वय गर्नु पर्नेमा जोड दिएका थिए ।

बैंकको कीर्तिपुर र बलम्बु शाखामा कारोबार गर्ने दक्षिणकारी नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका भित्रका २८ संस्थाका अध्यक्ष एवम् उपाध्यक्षहरूले सहभागिता जनाएका थिए । तालिम कार्यक्रम सञ्चालन बैंकको कीर्तिपुर शाखाका प्रमुख समीर मानन्धरले गर्नुभएको थियो।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.