News

सहकारी बैंकको स्तरीकरण कार्यक्रममा सहभागी सप्तरीका संस्थाहरूबिच समीक्षा

ललितपुर, ८ असोज
राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको सहकारी संस्थाहरुको स्तरीकरण कार्यक्रम अन्तर्गत सप्तरी जिल्लामा आबद्ध सहकारी संस्थाहरु बिच “केयर समीक्षा गोष्ठि” कार्यक्रम सम्पन्न भएको छ ।

केयर कार्यक्रममा आबद्ध सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सप्तरीको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा शनिवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैंकको केयर कार्यक्रममा आबद्ध संस्थाहरुको वित्तीय अवस्था, सुशासन र आन्तरिक व्यवस्थापन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय बैङ्कका सञ्चालक एवम् मधेश प्रदेशका संयोजक विश्वनाथ मण्डलले केयर कार्यक्रमले संस्थाको विकास र प्रवद्र्वनमा सहयोग पुग्ने बताउनु भयो ।

उहाँले “कार्यक्रममा आबद्ध सहकारी संस्थाको संस्थागत विकास तथा स्तरोन्नतिका लागि संस्थाको विनियम अद्यावधिक, कार्यविधिहरू निर्माण एवम् अद्यावधिक योजना निर्माण एवम् समीक्षा, नेतृत्व व्यवस्थापनको दक्षता अभिवृद्धि, आन्तरिक नियन्त्रण प्रणाली, सुशासन लगायत गैर–वित्तीय पक्ष एवम् वित्तीय व्यवस्थापन तथा स्वस्थता कायम गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध हुने भएकोले पनि यो कार्यक्रमले सहकारी संस्थाहरुलाई फाइदा हुने उल्लेख गर्नु भयो” । सहकारी संस्थाहरुको सञ्चालनलाई थप व्यवस्थित गरी गुणात्मक सुधार मार्फत सहकारी अभियानको उच्च छवि निर्माणमा पनि यस कार्यक्रमले प्रत्यक्ष सहयोग गर्ने बताउनु भयो ।

केयर कार्यक्रममा सहभागी सहकारी संस्थाहरुको तर्फबाट आ–आफ्नो संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै सहकारीलाई सुरक्षित रूपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरू निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रूपमा सक्षम बनाउन तथा समग्रमा सहकारीको स्वास्थ्य अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी भएको बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक शम्भु बहादुर खड्का, राष्ट्रिय सहकारी बैङ्कका वरिष्ठ प्रबन्धक रामबाबु आचार्य, शाखा समन्वय उपसमितिका संयोजक गणेश आस, शाखा प्रमुख चन्द्र मणि भट्टराई लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बैंकको स्तरीकरण विभागका अधिकृत सूर्य प्रसाद रिमालले सहजीकरण गर्नु भएको थियो । उहाँले संस्थाहरुको अवस्थाको बारेमा जानकारी गराउँदै सुधारका लागि आवश्यक सुझावहरू समेत दिनु भएको थियो । समीक्षात्मक गोष्ठी कार्यक्रमले ९ बुँदे निष्कर्ष समेत निकालेको छ । संस्थाले जोखिममा रहेको ऋणको आधारमा ऋण सुरक्षणको व्यवस्था गर्ने, प्रत्येक संस्थाले अर्धवार्षिक समीक्षा बैठक गर्ने, संस्थाका सबै कर्मचारीहरूलाई कार्य विवरण प्रदान गर्ने लगायत रहेका छन् ।

कार्यक्रम आयोजक संस्था सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनोज कुमार यादवको अध्यक्षता तथा व्यवस्थापक विनोद कुमार यादवको सञ्चालनमा भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button