बर्दियामा सहकारी बैंकको अन्तरक्रिया, सहकारीको सेवालाई प्रविधिमैत्री र सदस्य केन्द्रित बनाउनु पर्नेमा जोड

भदौ २९, ललितपुर
गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले सहकारीको सञ्चालन प्रक्रियालाई थप व्यवस्थित गराउँदै सेवा सुविधालाई प्रविधिमैत्री र सदस्य केन्द्रित बनाउनु पर्ने बताउनु भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड भुरीगाउँ शाखा कार्यालयको आयोजनामा बुधवार बर्दियाको भुरीगाउँमा बैंकको सेवा र सहकारीको समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रमको उद्घाटन पछि बोल्दै नगर प्रमुख यादवले यस्तो बताउनु भएको हो ।
सहकारी क्षेत्रमा प्रविधिमैत्री सेवा नहुँदा समस्या झेल्नु परेको भनेर कतिपय सदस्यहरुले गुनासो गर्ने गरेको भन्दै उहाँले अव सहकारीले प्रविधिका नयाँ–नयाँ फिचरहरूमा जोड दिनु पर्ने बताउनु भयो । नगरपालिकाले सहकारी सञ्चालन प्रक्रियालाई व्यवस्थित बनाउन सहकारी बैङ्कसँग सहकार्य गरेर नीति तथा कार्यक्रम बनाउने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले युवाहरूलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नका लागि प्रविधिको उपयोगमार्फत कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनु भयो ।
उहाँले सहकारी बैंकका सदस्य संघ/सदस्यहरूलाई व्यावसायिक बनाउनका लागि पूँजि, प्रविधि र आवश्यक शिक्षा तालिमका लागि सहकारी बैंक सदैव सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघंका महासचिव दामोदर अधिकारी, जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुगांना, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज न्यौपाने, साना किसान कृषि सहकारी संघका सचिव डम्मर के।सी, सहकारी संजाल गुलरीयाका संयोजक इन्दिरा सुवेदी, ठाकुरवावा सहकारी संजाल बर्दियाका सचिव मेनुका पोखरेल, नेपाल पत्रकार महासघका बर्दिया शाखाका अध्यक्ष यादव आचार्य लगायत सहकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षता, सञ्चालक विजया धितालकोे सञ्चालन र भुरीगाउँ शाखाका प्रमुख किरण खत्रिको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।