सुर्खेतमा केयर कार्यक्रममा आवद्ध संस्थाहरु बीच ‘समिक्षात्मक गोष्ठि’ सम्पन्न

ललितपुर । सिदार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड विरेन्द्रनगर सुर्खेतको आयोजनामा राष्ट्रिय सहकारी बैंकले संचालन गरेको केयर कार्यक्रममा आवद्ध संहकारी संस्थाहरु बीच ‘समिक्षात्मक गोष्ठी’ कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार सिदार्थ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा सहकारी क्षेत्रको गुणात्मक सुधारका लागि सहकारी स्तरीकरण कार्यक्रम अन्तर्गत राष्ट्रिय सहकारी बैंकले संचालन गरेको केयर कार्यक्रममा आवद्ध त्यस क्षेत्रका सहकारी संस्थाहरुका पदाधिकारी, संचालक, विभिन्न उप–समितिका संयोजक तथा सदस्यहरु, कर्मचारीहरु र सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका संचालक एवम् प्रमुख अतिथि हरिहर नाथ योगीले केयर कार्यक्रमले संस्थाको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले “कार्यक्रममा आवद्ध सहकारी संस्थाको संस्थागत विकास तथा स्तरोन्नतीका लागि संस्थाको विनियम अद्यावधिक, कार्यविधिहरु निर्माण एवम् अद्यावधिक योजना निर्माण एवम् समीक्षा, नेतृत्व व्यवस्थापनको दक्षता अभिवृद्धी, आन्तरिक नियन्त्रण प्रणाली, सुशासन लगायत गैर–वित्तीय पक्ष एवम् वित्तीय व्यवस्थापन तथा स्वस्थता कायम गर्न आवश्यक प्राविधिक सहयोग उपलव्ध हुने भएकोले पनि यो कार्यक्रमले सहकारी संस्थाहरुलाई फाईदा हुने उल्लेख गर्नु भयो” । सहकारी संस्थाहरुको संचालनलाई थप व्यवस्थित गरी गुणात्मक सुधार मार्फत सहकारी अभियानको उच्च छवि निर्माणमा पनि यस कार्यक्रमले प्रत्यक्ष सहयोग गर्ने बताउनु भयो ।

समिक्षात्मक गोष्ठी कार्यक्रमले १४ बुँदे निश्कर्ष समेत निकालेको छ । संस्थाले जोखिममा रहेको ऋणको आधारमा ऋण सुरक्षणको व्यवस्था गर्ने, प्रत्येक संस्थाले अर्धवार्षिक समिक्षा वैठक गर्ने, यस वर्ष कम्तिमा १५ प्रतिशत सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्ने, संस्थाका सवै कर्मचारीहरुलाई कार्य विवरण प्रदान गर्ने र असार मसान्त पछि सबै कर्मचारीहरुको वार्षिक कार्यसम्पादन मुल्याङ्कन गर्ने लगायतको रहेका छन् ।
सिदार्थ बहुउद्देश्यीय सहकारी संस्थका अध्यक्ष टोप बहादुर टलामीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक हरिहर नाथ योगी, विभागिय प्रमुख भरत कुमार चिमरिया, अधिकृत सुर्य प्रसाद रिमाल र केयर कार्यक्रममा आवद्ध सहकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।